कसैको १५ दिनमै सरुवा, कसैलाई ९ वर्षसम्म एउटै कार्यालय

काठमाडौं।संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए।

 

 

कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।

 

 

 

निजामती क्षेत्रमा सबैभन्दा बढी अनियमितता कर्मचारी सरुवामा हुने गर्छ। ट्रेड युनियन, कर्मचारी संघ, संगठनमा आबद्ध कर्मचारी नेता तथा पहुँच भएका व्यक्तिको सरुवा उसले चाहेको ठाउँमा हुने गर्छ।

 

 

 

उसले नचाहेसम्म सरुवा हुँदैन तर पहुँच नहुनेहरूको सरुवा चाँडोचाँडो हुनेगर्छ। यस्तो अनियमितता सबै सरकारी निकायमा हुने गरेको छ।

 

 

 

प्रशासन समूहका सहसचिव ध्रुव गैंडा झण्डै २ महिनाको अवधिमा प्रदेश २ बाट गण्डकी प्रदेशको युवा मन्त्रालय, युवा मन्त्रालयबाट गण्डकी प्रदेशकै मुख्यमन्त्रीको कार्यालय र गत पुस ७ मा गण्डकी प्रदेशबाट बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन्।

 

 

लमजुङमा प्रमुख जिल्ला अधिकारी भएको भएको ५ महिनामै होमप्रसाद लुइँटेल मुस्लिम आयोगमा सरुवा भए। त्यसको एक महिनामै पर्यटन मन्त्रालयमा तानिए।

 

 

एक वर्षको अवधिमा सर्लाहीमा ७ पटक प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सप्तरीमा चारपटक फेरिएका छन।

 

 

सर्लाही र सप्तरीमा कर्मचारी सकेसम्म जान नचाहने प्रवृत्तिले प्रदेश २ का जिल्लामा चाँडोचाँडो कर्मचारी सरुवा गर्नुपरेको गृह मन्त्रालय स्रोतले बतायो।

 

 

सर्लाहीका तत्कालिन प्रजिअ बाबुराम खतिवडा बिदामा काठमाडौं आएको बेला उनी काठमाडौंमै बस्न मन गरे। गृहले उनको ठाउँमा थानेश्वर गौतमलाई पठायो। खतिवडाले चाहेकै पूरा भयो। उनलाई सर्लाही जानु परेन।

 

 

 

प्रशासन समूहका सहसचिव विश्वबाबु पुडासैनी भने ९ वर्षपछि मात्र गत पुस ७ गते उद्योग मन्त्रालय मातहतको गुणस्तर तथा नापतौल विभागबाट बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भए।

 

 

बढुवा हुनकोलागि प्रदेशमा जानकोलागि कानुनी बाध्यताको कारण आफैले चाहेर उनी बागमतीमा पुगेका छन्।

 

 

सहरी विकासमन्त्री मन्त्रालयमा पनि यस्तै अवस्था छ। रामकुमारी झाँक्री सहरी विकास मन्त्रालयमा आएको केही दिनमै उनले गत कात्तिक २८ मा एकैपटक १८ जना उच्च कर्मचारीको सरुवा गरिन्। त्यसपछि पनि मन्त्रालय मातहतका उच्च कर्मचारीको सरुवा गर्ने क्रम जारी छ।

 

 

कात्तिक २६ पछि सिनियर डिभिजन इञ्जिनियर शचिन्द्र देव सघन सहरी तथा भवन निर्माण आयोजना केन्द्र दाङबाट सप्तरी आयोजना केन्द्र र हाल सप्तरी आयोजना केन्द्रबाट भवन विभागम काठमाडौंमा सरुवा भएका छन्।

 

 

 

यसैगरी अर्का सिनियर डिभिजन इञ्जिनियर एकराज अधिकारी काठमाडौ उपत्यका विकास विकास प्राधिकरण ललितपुरबाट भवन विभागमा सरुवा भए।

 

 

 

त्यसपछि असोजमा उनी संघीय आयोजना कार्यान्वयन एकाइ धनुषामा सरुवा भए। केही दिनअघि मात्र उनी धनुषाबाट भवन विभाग काठमाडौंमा तानिएका छन्। नागरिक दैनिकमा खबर छ।