रुकुमपूर्वमा हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । यही पुस १२ गतेदेखि शुरू गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यमिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए ।

 

 

 

बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेकाले परीक्षा स्थगन गरिएको विद्यालयले बताएको छ । अर्को सूचना जारी नहुँदासम्मको अवस्थामा परीक्षा स्थगन भएको शिक्षक खत्रीले जानकारी दिए ।

 

 

सिस्ने गाउँपालिकाले गाउँपालिकाभरि पुस ११ गतेदेखि अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो । गाउँपलिकाभरिमा अन्य विद्यालयमा ११ गतदेखि नै परीक्षा शुरू भए पनि पाखापानीमा भने १२ गतेदेखि मात्रै परीक्षा शुरू भएको सिस्ने गाउँपलिका शिक्षा शाखाका प्रमुख मंगलसिहं बुढाले बताए ।

 

 

 

 

अहिले अत्यधिक चिसो र हिउँले गर्दा विद्यार्थी विद्यालयसम्म पुग्ने वातावरण नहुँदा सिस्ने–१ को परीक्षा स्थगन गर्नुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख बुढाको भनाइ छ ।

 

 

 

 

सिस्ने गाउँपालिकाभित्रका विद्यालयमा पुस २० गतेभित्र परीक्षा सकाएर एक सातालाई जाडो बिदा गर्ने गाउँपालिकाले बताएको छ । रासस