शक्तिकेन्द्रको आडमा तीन एसपीको सरुवा,नियमित सरुवामा अवरोध

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपीको नियमित सरुवालाई रोकेर तीन एसपीको मात्रै काज सरुवा गरेको छ । धेरैजसो एसपीको सरुवा भएको १४ महिनाभन्दा बढी समय भएको भएपनि प्रहरी प्रधान कार्यालयले एसपीको नियमित सरुवा गर्न सकेको छैन ।

 

 

‘नियमित सरुवमा गृहमन्त्रालय बाधक रहेको छ आईजीपीले सरुवा गर्न खोजिरहेका थिए, गृहमन्त्रालय धाउने एसपीका कारण सरुवा रोकिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । उनका अनुसार एसपी मात्रै होइन डीएसपीको पनि नियमित सरुवा गर्ने बेला भएको छ ।

 

 

एसपीको सरुवा सकिएलगत्तै डीएसपीको सरुवा हुने भएकाले प्रहरी प्रधान कार्यालयले डीएसपी सरुवाको पनि तयारी गरेको छ । निर्वाचन आचारसंहिता लागु नहुँदै प्रहरी प्रधान कार्यालयले सबै प्रहरीको नियमित सरुवा गर्ने तयारी गरेको स्रोतको दावी छ ।

 

 

तीन दिन अघि गरिएको सरुवा पनि गृहमन्त्रालयकै दबाबमा गरिएको हो । नियमिति सरुवालाई रोकेर तीनदिन अघि ३ जिल्लाका एसपीको काज सरुवा गरेको छ ।

 

 

प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा नवराज अधिकारीलाई पठाइएको छ । महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीलाई काज सरुवा गरिएको छ ।

 

 

 

लामो समयदेखि एसपीको नियमित सरुवा हुन सकेको छैन । तर, प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर काज सरुवा गरेको हो ।

 

 

 

चितवनमा कार्यरत ओमप्रसाद अधिकारीलाई अख्तियार, महोत्तरीमा कार्यरत दिनेश आचार्यलाई अपराध महाशाखा र बर्दियामा कार्यरत ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

 

 

चितवन जानका लागि पंगेनीले लामो समय गृहमन्त्रालय धाएका थिए तर प्रचण्डले अधिकारीलाई पठाउन चाहेपछि पंगेनीलाई महोत्तरी पठाइएको हो ।

 

 

महोत्तरीमा सरुवा गरिएका पंगेनीले यसअघि बारा जिल्लाको कमाण्ड गरेका थिए । बाराबाट फर्केको केही समय अपराध महाशाखामा बसेका पंगेनीलाई फेरि मधेस प्रदेशकै जिल्लामा पठाइएको छ ।

 

 

 

उनी लामो समयदेखि आकर्षक पोष्टिङ पाउने प्रहरी अधिकारीमा पर्छन । प्रहरी निरीक्षक हुँदा काठमाडौंको मुद्धा शाखामा रहेका पंगेनी विवादमा मुछिएका थिए । त्यसैगरी २०७७ असारबाट कपिलवस्तुमा एकवर्ष काम गरेर फर्केका नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ ।

 

 

 

कपिलवस्तुमा तुलनात्मक रुपमा राम्रो काम गरेका एसपी अधिकारीले माओवादीको सोर्स लगाएकोमा प्रहरी प्रधान कार्यालय असन्तुष्ट रहेको बताइएको छ ।

 

 

 

कपिलवस्तु जानु अघि बाँके जान तयार भएका अधिकारीलाई यसअघि कपिलवस्तु पठाइएको थियो । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले तराईबाट फर्केकालाई तराइको जिल्लामा कमाण्ड नदिने आचारसंहिता बनाएका थिए ।

 

 

 

तर, शक्तिकेन्द्रमार्फत दबाब दिएपछि पंगेनी र अधिकारीको हकमा त्यो लागु भएन । पंगेनी र अधिकारीले आकर्षक जिल्लामा काज गराएका छन् । बर्दियामा सरुवा भएका शाहीले एसपीमा बढुवा भएपछि जिल्ला कमाण्ड गर्ने अवसर पाएका थिएनन् ।

 

 

 

उनको हकमा न्याय भएको भएपनि दुई प्रहरी अधिकारीले भने प्रहरी प्रधान कार्यालयको आचारसंहितालाई शक्तिको आडमा लत्याएका छन् ।

 

 

 

‘प्रहरी महानिरीक्षक र भावी प्रहरी महानिरीक्षकको दावी गरिरहेका एआईजी विश्व अधिकारीले दुवै एसपीलाई शक्तिकेन्द्रको दबाबमा काज सरुवा गरिदिएका हुन्, प्रहरी संगठनको चेनअफ कमाण्ड सबै राजनीतिक दलका नेताहरुको घरभित्र पसेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।