नेपाली नयाँ जनवादी व्यवस्थाको अर्थनीति

नेपाल आजसम्म पनि अर्धसामन्ति र नवउपनिवेशी अवस्थामै रहदै आएको छ । त्यसको अर्थ हो यहाँ एकातिर विशाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध कायमै छ भने अर्कोतिर शहरी क्षेत्रहरुमा दलाल तथा नोकरशाही पुँजीवादको बोलवाला छ । त्यसैले नेपालका गाउँले किसान तथा शहरीया मजदुरहरु एकैसाथ दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादवाट शोसित तथा उत्पीडित छन् ।

 

 

 

विशाल संख्यामा रहेको शोषित र उत्पीडित जनसमुदायलाई पूर्णरूपले मुक्त गरि उनीहरूलाई सम्पन्नता र विकासको बाटोमा अगाडि बढाउन नेपालमा हाल कायम रहेको दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादी वर्गको राज्यसत्ता अन्त्य गरि त्यसको सट्टामा नयाँ जनवादी राज्यसत्ता कायम गरिनुपर्छ भन्ने नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको नीति र कार्यक्रम रहदै आएको छ ।

 

तर यहाँ केही कम्युनिस्ट आवरणका कम्युनिस्ट पार्टीहरुले र उत्तर माक्र्सवादी – नव माक्र्सवादीहरुले राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगौ नयाँ जनवादी क्रान्ति भइसक्यो, अब समाजवादी क्रान्ति गर्ने हो भन्ने बकवास गरेर नेपाली जनतामाथि भ्रम सिर्जना गरिरहेका छ ।

 

 

वास्तविकता के हो त ? नेपालमा नयाँ जनवादी क्रान्ति सम्भव छ कि छैन ? नयाँ जनवाद अर्थतन्त्रको स्वरुप कस्तो हुन्छ ? त्यसको निर्माण कसरी गरिन्छ ? नेपालमा त्यो सम्भव छ कि छैन ? आदि विषयमा आमजनताको जिज्ञासा रहनु स्वाभाविक छ । यो लेखमा यिनै केही विषयहरुबारे प्रकाश पार्ने कोसिस गरिएको छ ।

(१) नयाँ जनवादको आर्थिक नीतिबारे:

 

 

नयाँ जनवाद भनेको सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गरि सर्वहारा वर्गको नेतृत्वमा र मजदुर – किसान एकताका आधारमा निर्माण गरिने नयाँ प्रकारको पुँजीवाद हो ।

 

 

 

यसलाई नयाँ भन्नुको अर्थ यो हो कि पुँजीवादमा मात्र सिमित नरही वैज्ञानिक समाजवादतिर उन्मुख हुने पुँजीवाद हो , त्यस अवस्थामा राष्ट्रिय पुँजीपतिवर्ग र धनी किसान वर्गसम्म अटाउछन् ।

 

 

त्यसैले नयाँ जनवादी अर्थतन्त्रमा सामन्तवादको अन्त्य हुनुको साथसाथै पुरानो प्रकारको पुँजीवादको एकाधिकारवादी र असमान तथा विषम विकासको प्रबृत्तिमाथि नियन्त्रण गरि वैज्ञानिक समाजवादमा रुपान्तरण हुने प्रक्रिया समाविष्ट हुन्छ ।

 

 

 

अर्थात् यो सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लामो आर्थिक – सामाजिक प्रक्रियाको प्रारम्भिक चरण हो र नयाँ जनवादका सबै आर्थिक नीतिहरु त्यसै दिशातिर परिलक्षित हुन्छन् ।

 

नेपालमा नयाँ जनवादका आर्थिक नीतिहरुलाई निम्न बुँदाहरुमा संक्षेपमा राख्न सकिन्छ :

 

(२) (क) सामन्तवादको अन्त्य:

 

नेपाली अर्थतन्त्र अहिलेसम्म कृषिप्रधान छ र कृषिमा सामन्ती श्रम– सम्बन्ध नै मूल रुपमा विद्यमान छ । हुन त आफ्नो स्वामित्वको जमिन आफै जोत्ने भूस्वामी जोताहाहरुको संख्या देशभरमा अत्यधिक छ र पहाड र हिमाली भेगमा त्यो धेरै हदसम्म सत्य पनि हो , तैपनि खासगरी तराई र भित्री मधेसमा ठूलो मात्रामा तथा पहाडमा पनि उल्लेख्य मात्रामा जमिनमाथि सामन्ती स्वामित्व कायमै छ ।

 

 

ठूला जमिन्दारका नाममा, हिजोका राजा – रजौटाहरु, शाहसमान्तहरु, राणा परिवारहरु, गुठीका नाममा , मठमन्दिरका नाममा, मौजावालहरुका नाममा, पुराना दरवारका भाईभार्दारहरुका नाममा, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुका नाममा अहिले पनि लाखौं – करोडौं विघा जमिन रहेको छ ।

 

 

 

नयाँ जनवादी क्रान्तिले उनीहरूको जमिन जफत गरेर भूभिहिन किसानहरुलाई वितरण गरिन्छ । जमिन जोत्नेको नाममा कायम गरिन्छ । कृषिमा आौद्योगिक क्रान्ति गरिन्छ । किसानहरुलाई जमिनको मालिक बनाइन्छ ।

 

 

 

त्यसैले सबै प्रकारका सामन्ती सम्बन्धहरुको अन्त्य गर्नु नयाँ जनवादी अर्थतन्त्रको मूल नीति हो ।ठोस रुपमा भन्नुपर्दा सामन्तहरुको (माथि उल्लेखित व्यक्तिहरुको नाममा रहेको ) जमिन खोसेर विना मुआब्जा भूभिहिन तथा गरिबकिसानहरुमा वितरण गर्नु अर्थात् जमिनमाथि “जसको जोत उसको पोत” लागु गर्नु नयाँ जनवादको आधारभूत अर्थनीति हो ।

 

 

 

त्यसरी नै किसानहरुलाई सम्पूर्ण रुपले ऋणमुक्त गर्नु , उत्पादनका साधन र आफ्नो श्रममाथि किसानहरुको पूर्ण स्वामित्व कायम गर्नु र सबै प्रकारका गैर – आर्थिक दबाबको अन्त्य गरि किसानहरुलाई पूर्णरूपले स्वतन्त्र बनाउनु नयाँ जनवादको अर्थनीति हो ।

 

 

 

साथै गरीब , साना तथा मध्यम किसानहरुलाई आघात नपर्ने गरि धनी किसानहरुको संरक्षण गर्ने नीति पनि नयाँ जनवादमा हुनेछ ।

 

 

समग्रमा भन्नुपर्दा नयाँ जनवाद भनेको उत्पादनको साधनमाथि व्यक्तिगत स्वामित्व कायम रहेको तर सामन्ती शोषणको अन्त्य भएको नयाँ प्रकारका पुँजीवादी अर्थव्यवस्था हो ।

 

(२) (ख) दलाल तथा नोकरशाही पुँजीवादको उन्मुलन र राष्ट्रिय अर्थतन्त्रको विकास:

 

खासगरी हाम्रो देश नेपाल सुगौली ( सन १८१६ ) पछि तत्कालीन बृटिश भारतको अर्थउपनिवेश र सन १९४७ पछि मूलरुपमा भारतीय विस्तारवादको अर्थउपनिवेशको रुपमा कायम रहँदै आएकोले यहाँ राष्ट्रिय पुँजीको सञ्चय र विकासको प्रक्रिया अबरुद्ध हुँदै आएको छ र त्यसको सट्टामा यहाँ स्वदेशी सामन्तवाद र विदेशी साम्राज्यवाद र विस्तारवादको ठिमाहा सन्तानको रुपमा दलाल तथा नोकरशाही पुँजीवादको विकास भएको छ ।

 

 

सामान्यतया विदेशी एकाधिकारको पुँजीको अंग वा एजेन्टको रुपमा काम गर्ने , आर्जित मुनाफाको अत्यधिक अंश विदेशतिरै फर्काउने तर राज्यसँग नजोडिएको पुँजीलाई दलाल पुँजी (Comprador Capital) भनिन्छ ।

 

 

त्यस्तै विदेशी एकाधिकारपुँजी र घरेलु सामन्तवादसंग जोडिएको प्रयाशः राज्यसत्ताको आड लिएको र अधिकांशतः वित्तीय पुँजीको रुपमा रहेको पुँजीलाई नोकरशाही पुँजी (Bureaucratic Capital) भन्ने गरिन्छ ।

 

 

 

र यी दुबै पुँजीको जरा विदेशी एकाधिकार पुँजीमा हुने गरेको , दुबैको चरित्र एकाधिकारवादी भएको , उत्पीडित राष्ट्रहरुमा दुबैले प्रत्येक्ष वा परोक्ष रुपमा राज्यसत्ताको आड लिने गरेको , दुबै पुँजी अधिकांस गैर –उत्पादनशील क्षेत्रमा लाग्ने फलस्वरूप राष्ट्रिय आौद्योगिक पुँजीको विकासको निम्ति बाधक बन्न गएको र दुबैको चरित्र प्रतिगामी प्रकारको हुने गरेकोले यिनीहरूलाई फरक फरक रुपमा भन्दा एउट नोकरशाही पुँजीको रुपमा विश्लेषण र गणना गर्नु उपयुक्त देखिन्छ ।

 

 

त्यसैले नयाँ जनवादी अर्थनीतिको एउटा प्रमुख आधार दलाल तथा नोकरशाही पुँजीवादलाई पूर्णरूपले जफत गरेर राष्ट्रियकरण गर्ने र राष्ट्रिय आौद्योगिक पुँजीको विकास गर्नु हुनेछ ।

 

 

 

त्यस अन्तर्गत देशलाई विदेशी ऋणबाट मुक्त गर्ने , विदेशी बैंकमा थुपारिएको पुँजी स्वदेश फिर्ता गरि राष्ट्रियकरण गर्ने , व्यापारिक र वित्तीय क्षेत्रमा रुमल्लिएको पुँजीलाई आौद्योगिक क्षेत्रमा प्रवाहित गर्ने , स्वदेशी कच्चा पदार्थ र बजारमा आधारित उद्योगलाई प्रश्रय दिने , साना तथा घरेलु उद्योगहरुलाई विशेष सुबिधा , सहुलियत र संरक्षण दिने आदि नीति लागु हुनेछन् ।

 

 

सार्वजनिक जीवनमा असर गर्ने तथा अर्थतन्त्रका आधारभूत उद्योग र व्यापार तथा विदेश व्यापार राज्यबाट सञ्चालित र नियन्त्रित हुनेछन् ।

 

 

(२) ( ग) सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको विकास :

 

सामान्तवाद , दलाल तथा नोकरशाही पुँजीवादको चरित्र स्वभावैले एकातिरवादी हुन्छ । त्यसैले त्यस्तो आर्थिक संरचनामा सबै क्षेत्रमा असन्तुलन र असमानता अपरिहार्य हुन्छ ।

 

 

 

नेपालको वर्तमान सन्दर्भमा कृषि ,उद्योग र व्यापारको क्षेत्रमा रहेको असन्तुलनलाई गाउँ र शहरबीचको असमानता , तराई पहाड र हिमाली भेग अथवा पूर्व , मध्य र पश्चिमका भौगोलिक क्षेत्रहरुबीचमा विकासको असमानता टड्कारो रुपमा देख्न सकिन्छ ।

 

 

 

 

व्यापारको क्षेत्रमा रहेको दलाल दलालपुँजीपतिहरुको एकाधिकारको कारणले वस्तुहरुको कृतिम अभाव र अराजकतापूर्ण प्रकारको मूल्यवृद्धको मार आम जनता सहनु परिरहेको छ ।

 

 

आज देशको अर्थतन्त्र दलाल तथा नोकरशाहीहरु माफियाहरु, विचौलियाहरु, तस्करहरु ठेकेदारहरु, कालाव्यापारीहरु, मुनाफाखोरहरु भष्टचारीहरु, भूमाफियाहरु, साम्राज्यवाद तथा विस्तारवादका एजेन्टहरुले चलाइरहेका छन् ।

 

 

सामन्तवादी कृषि अर्थतन्त्रको पछौटेपन र नोकरशाही पुँजीवादको एकाधिकारवादी चरित्रको कारण देशमा रोजगारीको अवसर ज्यादै कम भएर आज लाखौं युवा शक्ति विदेश पलायन भइरहेको छ । यहाँका दलाल शासकहरुले रेमिटेन्सलाई मुलुकको प्रमुख श्रोत मान्दै आएका छन् ।

 

 

नेपाली नयाँ जनवादी क्रान्तिले यस प्रकारको अर्थनीतिलाई ध्वस्त पारेर देश र जनताको लागि सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दछ । नयाँ जनवादमा आधारित वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अर्थनीतिको विकास गर्दछ ।

 

 

(२) (घ) वैज्ञानिक समाजवाद तर्फ उन्मुख अर्थतन्त्रको विकास :

 

 

नयाँ जनवादी अर्थतन्त्र मूल रुपमा पुँजीवादी अर्थतन्त्र नै भए पनि यो “ नयाँ ” हुनुको मूल कारण यसको वैज्ञानिक समाजवाद उन्मुख चरित्र नै हो ।वर्तमान साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा उत्पीडित राष्ट्रहरुमा स्वतन्त्र रुपले पुरानो प्रकारको पुँजीवादको विकासको सम्भावना छैन ।

 

 

 

माथि उल्लेख भए झै हाम्रो जस्तो देश नेपालमा दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादको अन्त्य नयाँ जनवादी क्रान्तिले गरेपछि त्यहाँ सर्वहारा वर्गको नेतृत्वमा निर्माण हुने नयाँ प्रकारको पुँजीवादी संरचना ज्यादै छोटो अवधिको निम्ति र वैज्ञानिक समाजवादमा शीघ्र संक्रमणको निम्ति मात्रै हुन्छ ।

 

 

 

 

त्यसै नयाँ जनवादी अर्थव्यवस्थामा शुरुदेखि नै वैज्ञानिक समाजवादका भ्रुणहरु अर्थतन्त्रका विभिन्न हाँगा – विङ्गा हरुमा विभिन्न प्रकारले रोप्ने र हुर्काउने प्रयास भइरहेको हुनुपर्छ ।

 

 

 

किसानहरुमा पनि वैज्ञानिक समाजवादी चेतना विकास गर्नुपर्ने हुन्छ । त्यसरी नै अर्थतन्त्रका अरु क्षेत्रहरुमा पनि क्रमशः उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम गर्ने र सामूहिक श्रम गर्ने पध्दति विकास गरेर वैज्ञानिक समाजवादमा संक्रमण गर्ने आधार तयार गर्नुपर्छ ।

(३) नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व :

 

नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व नेपाली सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने हो र हुदै पनि आएको छ । अर्थात् माक्र्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शकमा मजदुर – किसान एकताका आधारमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिन्छ ।

 

 

(४) नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा र क्रान्तिको मोडेल :

 

आजसम्म विश्वमा दुईवटा क्रान्तिका मोडेलहरु प्रयोगमा आएका छन् , ती हुन् – रुसी मोडेल : सशस्त्र जनविद्रोहको मोडेल र दीर्घकालीन सशस्त्र जनयुद्धको मोडेल: महान् चिनिया नयाँ जनवादी क्रान्तिको मोडेल ।

 

 

 

नेपाल २०५२ साल फागुन १ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा सञ्चालन गरिएको महान् दस वर्षे सशस्त्र जनयुद्ध चिनिया मोडेलको सशस्त्र जनयुद्धको मोडेल थियो । त्यो मोडेल हामीले प्रयोग गरिसकेका छौ ।

 

 

 

अब आजको नेपालको विशिष्ट परिस्थितिमा गरिने नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा अर्थात् क्रान्तिको मोडेल भनेको सशस्त्र जनविद्रोहको मोडेल हो , जुन रुसी अक्टोबर क्रान्तिको जस्तो नभएर नेपाली विशिष्टतामा आधारित शहरबाट केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने क्रान्तिको मोडेल हो , जो नयाँ चरित्रको हुनेछ ।

 

 

 

त्यसैले शहरलाई क्रान्तिको अग्रभाग र गाउँलाई पृष्ठभागमा राखेर क्रान्तिको तयारी गर्ने कार्य दिशा नै वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको सामरिक कार्यदिशा हो।

 

 

 

सशस्त्र जनविद्रोहको कार्यदिशाबाट क्रान्ति सम्पन्न गर्न सकिएन भने पुनः नेपाली क्रान्तिको बाटो छापामार शैलीमा फर्कनु पर्नेहुन्छ । त्यसो भएर कमरेड माओले भन्नुभएको छ , “हामीले छापामार युध्दलाई कहिल्यै भुल्नु हुँदैन । (केसी :अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)