गैरसांसद गोबिन्द बन्दी कानुनमन्त्री बने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई बिहिबार कानुनमन्त्री नियुक्त गर्नुभएको हो ।

 

 

निर्वाचन आयोगले भोली शुक्रबारदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेपछि बन्दीलाई बिहिबार नै मन्त्री बनाइएको हो ।

 

 

 

बन्दीले राष्ट्रपति भण्डारीबाट आजै दिउँसो पद तथा गोपनियताको सपथग्रहण गर्नुहुनेछ ।

 

 

 

बन्दी गैर सांसद हुनुहुन्छ । प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई पनि राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने गर्न सक्ने संविधानको धारा ७८ मा उल्लेख छ ।

 

 

 

तर त्यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

 

 

 

 

हाल कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु भएका दिलेन्द्रप्रसाद बडुलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

 

 

 

 

यो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आउनु भएको छ । बन्दी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट मानिनुहुन्छ ।