दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई परीक्षा आजबाट सुरु

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ। एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

 

 

 

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो ।

 

 

 

अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

 

 

 

 

एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

 

 

 

परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

 

 

 

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् ।

 

 

 

परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् भने सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार परीक्षार्थी छन् ।

 

 

 

एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी रहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

 

 

 

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

 

 

 

बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।