आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ।

 

 

यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

 

 

आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो भने उजुरी जाँचबुझका लागि बुधबार एक दिन छुट्याइएको थियो ।

 

 

 

 

बिहीबार साँझ नामावली प्रकाशन गरेपछि उम्मेदवारी फिर्ताका लागि शुक्रबार एक दिन दिइने छ । शनिबार आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

 

 

 

 

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

 

 

जसमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवार रहेका छन् भने सवैभन्दा कम उम्मेदवार सुदूरपश्चिममा रहेका छन् ।

 

 

यस्तै पार्टीगत रुपमा नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।