नागढुंगाबाट चार करोड रुपैयाँसहित ५ जना पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चारजना चिनियाँ नागरिक छन् ।

 

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

 

 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लास्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।