राजनीतिक दललाई स्वतन्त्रहरुको चुनौती, संघीय निर्वाचन झन कठिन

 

 

काठमाडौं । करिब एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको उपस्थिति उल्लेख्य रुपमा रहेको पाइएको छ । देशका नामुक मानिएका स्थानीय तहहरुमा समेत स्वतन्त्र उम्मेदवारहरुले प्रमुख राजनीतिक दललाई पराजित गर्दै आफ्नो विजयलाई सुरक्षित गरेका छन् । विगतदेखि नै राजनीतिक दलहरुको दबदबा रहेका महत्वपूर्ण शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुको विजयले दलहरुका लागि चुनौतीको विषय बनेको छ । त्यति मात्र नभइ आगामी आमनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु राजनीतिक दलका लागि चुनौती बन्ने आशंका गरिएको छ ।

 

 

स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा राजनीतिक दलहरु स्थानीय तहहरुमा आफ्नै विरासत कायम रहने आँकलन गरिरहेका थिए । तर जब निर्वाचन पछि परिणाम राजनीतिक दलहरुले सोचे अनुरुप आउन सकेन । देशभरका महत्वपूर्ण र राजनीतिक दलहरुबीचमा मात्र रोचक प्रतिस्पर्धा हुने भनिएका मुख्य स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारहरुको विजयले राजनीतिक सतहमा नयाँ मोड नै लियो । उनीहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पराजित गरेपछि आगामी आम निर्वाचनमा पनि राजनीतिक दलहरुका लागि रुवतन्त्र उम्मेदवार चुनौती बन्ने भएको छ ।

 

त्यति मात्र होइन, देशभरका आम मतदाताले राजनीतिक पृष्ठभूमि भएका भन्दा स्वतन्त्रहरुलाई बढी रुचाएको पाइएको छ । पटक–पटक अवसर पाउँदा पनि जनभावना अनुरुप काम गर्न नसकेको भन्दै राजनीतिक दलप्रति जनताको वितृष्णा देखिएको छ । यसले पनि सम्पूर्ण राजनीतिक दलहरुलाई चुनौती थपिएको छ । आगामी दिनमा राजनीतिक दलहरु नसच्चिने हो भने जनताले जनमतद्धारा उनीहरुलाई विस्थापित गर्दै जाने स्थानीय तहको निर्वाचनबाट चेतावनी दिएका छन् । यससँगै एउटै पार्टीका नेताहरुबीचमा पनि फरक धारणा निर्माण गरिदिएको छ । कतिपयले यसलाई सकारात्मक भएको टिप्पणी गरेका छन् भने कतिपयले यसलाई अपवाद मात्र भएको टिप्पणी गरेका छन् ।

 

 

 

नेकपा एमालेकी नेता तथा राष्ट्रिय सभाकी पूर्व सदस्य कोमल वलीले निर्वाचनबाट स्वतन्त्र उम्मेदवारहरुको विजयलाई सकारात्मक रुपमा लिएको बताइन । काम गर्ने इच्छाशक्ति भएका र सकारात्मक सोच भएका युवाहरु यसरी सक्रिय हुनु सकारात्मक भएको उनको दाबी छ । यस्तै नेकपा एमालेका प्रतिनिधि सभाका सांसद तथा पूर्व कानुनमन्त्री भानुभक्त ढकालले स्वतन्त्र उम्मेदवारहरुको विजय अपवाद भएको टिप्पणी गरेका छन् । देशका केही स्थानहरुमा स्वतन्त्रहरुको विजय भएपनि उनीहरुका काम गर्ने शैलीलाई हेरेर टिप्पणी गर्नु उचित हुने उनको तर्क छ ।

 

 

यस पटकको स्थानीय तह निर्वाचनमा जनताले पार्टीगत झुकावभन्दा पनि स्वतन्त्र व्यक्तिलाई बढी रुचाएको देखिएको छ । विगतका वर्षहरुमा पार्टीगत झुकावभन्दा माथि उठ्न नसकेका जनताले यसपटक भने सुझबुझपूर्ण ढंगले आफ्नो मताधिकार प्रयोग गरेको पाइएको छ । विगतदेखि नै राजनीतिक दलभन्दा बाहिर जान नसकेका जनता यसपटक भने बाहिर निस्किएका छन् । काठमाडौं महानगरपालिकादेखि सुनसरीको धरान उपमहानगरपालिका र कैलालीको धनगढी उपमहामहानगरपालिकाको नेतृत्व चयनमा जनताले राजनीतिक दललाई नै पाखा लगाइदिएका छन् ।

 

 

देशभरका ७५३ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । जसमा ४ जना उपप्रमुख पदमा विजयी भएका छन् । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले राम्रो परिणाम ल्याएपछि आगामी प्रदेश र संघीय संसदको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी सार्वजनिक हुने क्रम सुरु भएको छ । यस्तै देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी पर्ने आँकलन गर्न कठिन छैन ।

 

 

यस पटकको मत परिणाम पटक पटक अवसर पाउँदा पनि काम नगर्ने पार्टीहरुको अक्षमता र नालायकीपनको परिणाम भएको राजनीतिक विश्लेषक डम्बर खतिवडाको भनाइ छ । राजनीतिक दलहरुका कारण आम मतदातामा वितृष्णा छाएकाले जनता यो निर्णय गर्न बाध्य भएको उनले बताए ।

 

 

यस्तै पटक–पटक जनमत पाएर पनि जनमतको सदुपयोग गर्न नसक्ने राजनीतिक दलहरुलाई यस पटकको चुनावमा जनताले सुझबुझपूर्ण ढंगले पाखा लगाएका छन् । जनमतले स्वतन्त्र उम्मेदवारहरुलाई पत्याए पनि उनीहरुले जनभावना अनुरुप काम गर्न सक्छन् या सक्दैनन् त्यो भने परीक्षणकै रुपमा छ ।