एसियन कप छनोटको अन्तिम खेल नेपाल र इन्डोनेसिया भिड्दै

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।

 

 

समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।

 

त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ ।

 

 

नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।

 

 

 

पहिलो खेलमा कुवेतलाई हराएको इन्डोनेसिया दोस्रो खेलमा जोर्डनसँग पराजित भएको थियो ।

 

 

इन्डोनेसियाको लागि भने नपालविरुद्धको नतिजा एसियन कपमा छनोट हुनका लागि महत्वपूर्ण बन्न सक्छ ।

 

 

लगातार दुई खेल जितेको जोर्डन ६ अंकसहित शीर्ष स्थानमा छ र इन्डोनेसिया र कुवेतको समान ३ अंक छ ।

 

 

 

तेस्रो चरणको छनोटबाट समूह विजेता बन्ने टोली सिधै अर्को वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।

 

 

यस्तै उत्कृष्ट पाँच उपविजेता पनि एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाल बाहेक बाँकी तीनवटै टिम सकेसम्म धेरै अंक जोड्ने लक्ष्यमा छन् ।

 

 

नेपालको लागि इन्डोनेसिया नयाँ प्रतिद्वन्दी जस्तै हो । नेपालले अहिलेसम्म इन्डोनेसियासँग एक खेल मात्र खेलेको थियो ।

 

 

नेपालले इन्डनेसियासँग सन् २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । मालाङ्गमा भएको उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

 

 

प्रतियोगितात्मक खेलमा भने नेपालले इन्डोनेसियासँग पहिलो पटक खेल्न लागेको हो ।

 

 

 

फिफा वरीयतामा नेपाल (१६८) भन्दा इन्डोनेसिया (१५९) ९ स्थान माथि छ ।