एसपीपीमा कुनै सम्झौता र समझदारी भएको छैन: नेपाली सेना (विज्ञप्तिसहित)

काठमाडौं। नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ।

 

 

विवादास्पद एसपीपी सम्झौताबारे संसद र सडकमा विरोध हुनुका साथै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग नै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर नगर्ने वचनबद्धता व्यक्त गरेकै बेला नेपाली सेनाले पनि एसपिपीबारे प्रस्टोक्ति दिएको हो।

 

 

 

सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको उल्लेख गर्दै यससम्बन्धी कुनै सम्झौता वा समझदारी नेपाली सेनाले नगरेको स्पष्ट पारेको छ।

 

 

 

सेनाले ‘एसपिपीसम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ उल्लेख गरेको छ।

 

 

 

सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा सदैव प्रष्ट र सचेत रहेको उल्लेख गरेको छ।