सरकार र निहारिकाबीच ५ बुँदे सहमति: निहारिकाले तोडिन् अनशन

काठमाडौं । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् ।

 

 

बिहीबार निहारिका र सरकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

 

 

 

 

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनसन तोडेकी हुन् ।

 

 

 

दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री न्याय बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।

 

 

 

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले हस्ताक्षर गरेका छन् ।