प्रधानसेनापति शर्मा लेवनानको भ्रमणका लागि प्रस्थान

काठमाडौँ । प्रधानसेनापति पर्शुराम शर्मा द्वन्दग्रस्त मुलुक लेवनानको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

 

 

संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा ७ सदस्यीय टोलीसहित लेवनान प्रस्थान गरेका हुन् ।

 

 

 

उनी द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन लेवनान प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

 

 

 

 

उनको भ्रमण टोलीले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतको जानकारी लिने जनाइएको छ ।

 

 

 

 

प्रधानसेनापति शर्मालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका छन् । साथै सेनाको टुकडीले विशेष सलामी समेत अर्पण गरेको थियो ।

 

 

 

सो भ्रमणका क्रममा उनले लेवनान तथा सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

 

 

 

 

शर्माको भ्रमण टोलीमा रक्षा सचिवसहित ७ सदस्य रहेका छन् । उक्त भ्रमण सकेर टोली असार १० गते नै स्वदेश फिर्ता जनाइएको छ ।