बाजुरामा ५ वर्षदेखि ओडारमा बस्दै आएकी महिलाको उद्दार

काठमाडौं। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ५ वर्षदेखि ओडारमा बस्दै आएकी एक महिलाको उद्दार गरिएको छ।

 

 

खप्तड छेडेदह १ लुगेनाकी ५५ वर्षीया जलु बुढा ५ वर्षदेखि एक छोरासहित ओडारमा बस्दै आएकी थिइन्। उनको ६ वर्षको छोरा मीन बुढासहित उनी ओडार बस्दै आएको प्रहरीले जनाएको छ।

 

 

 

आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले शुक्रबार उद्धार गरेर काँडा स्वास्थ्य चौकीमा राखेका छन्। ओडारमा बस्दै आएका आमा र छोरा दुबै कूपोषित रहेका छन्।

 

 

 

 

भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बिहे गरेका थिए। जलुदेवीका तीन छोरा छन्।

 

 

जेठा छोरा १८ वर्षका चक्र बुढा भारत गएका छन्। १२ वर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन्। ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका छन्।

 

 

 

 

जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिइन्।

 

 

श्रीमानले घर लैजान खोज्दा पनि उनी घर गइनन्। जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाहीँ झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन्।

 

 

 

भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइदिएका थिए।

 

 

तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन्। उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले बताए।

 

 

 

खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् ।

 

तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी स्वास्थ्य चौकी जान तयार भइन्। खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ।

 

 

 

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने बताएका छन्।

 

राम्रो सँग खान नपाएपछि आमा र छोरा दुबै कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन्।