प्रक्रियाविना जनप्रतिनिधिका लागि १० लाख भन्दा बढीका पोशाक खरिद

काठमाडौं। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले अवैध रुपमा किनेको पोशाकको खर्च जनप्रतिनिधिबाट व्यहोर्नु पर्ने सुझाव स्थानीय शासनका विज्ञले दिएका छन्।

 

 

उनीहरुले पोशाकको खर्च जनप्रतिनिधि आफैँले तिरेर गल्ती सुधार्न राम्रो हुने बताएका छन्।

 

 

 

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्देशनमा उपमेयर निलम लेखक जोशीले आफूसहित ३९ जना महिला जनप्रतिनिधिका लागि महालक्ष्मी इम्पोरियम र सिटी टेलरिङ एण्ड सटिङ्गबाट सारी, ब्लाउज, पेटीकोट र कोट खरिद गरेकी छन्।

 

 

सारी बाहेक अन्य सबै कपडा अहिले सिटी टेलरिङ्गमा सिलाउन दिइएको छ।

 

 

मेयर बोगटीको निर्देशनमा अवैध रुपमा पोशाक खरिद गरिएको बाहिर आएपछि विज्ञले आफ्ना धारणा बाहिर ल्याएका छन्।

 

 

 

स्थानीय शासन विज्ञ विसनदत्त जोशीले अवैध रुपमा खरिद गरिएको भएमा आफैँले खर्च व्यहोरी गल्ती सुधार्न उत्तम हुने बताए।

 

 

 

‘यदि बाहिर सुनिएरभनिए झैँ प्रक्रिया नै पूरा नगरेको हो यसरी नै प्रक्रिया पूरा नै नगरिएको हो भने पोशाक खरिदको पैसा आफैँले व्यहोरेर गल्ती सुधार्न उत्तम हो’ जोशीले भनेका छन्।

 

 

 

जोशीले जनप्रतिनिधिले राज्यबाट लिइने सेवा सुविधा पनि मापदण्ड र प्रक्रिया अनुसार लिनु पर्नेमा जोड दिएका छन्।

 

 

 

भीमदत्तले जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनमा नभएको व्यवस्था विपरीत महिला जनप्रतिनिधिका लागि पोशाक खरिद गर्न लागेको हो।

 

 

 

 

उपमेयरको अर्डरमा किनिएको पोशाक र सिलाई खर्च सबै गरी १० लाखभन्दा बढी खर्च हुने आशंका गरिएको छ।

 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र खरिद इकाईले पोशाक खरिदबारे अनविज्ञता देखाएका छन्।

 

 

 

कार्यक्रममै नभएको शीर्षकको रकम नतिर्ने उनले बताए। कार्यालयबाट खरिदको कुनै पनि प्रक्रियामा नगएर ती दुई पसलबाट कपडा खरिद गरी सिलाउन दिइएको छ।