नेपाली राष्ट्रिय फुटबल टोलीले अलमुताइरीको नेतृत्वमा १० हार, ५ जित,यसरी विवादमा परे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार राजीनामा दिए ।

 

 

 

पछिल्लो पटक विवादको भुमरीमा फसेका अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट राजीनामाको घोषणा गरेका थिए ।

 

 

 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीले राजीनामा दिएको पुष्टि गरे ।

 

 

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

 

 

नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।

 

 

अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

 

 

 

गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।

 

 

यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

 

 

 

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

 

 

 

त्यसअघि गत वर्षको साउन १० गते अलमुताईरीले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष पंकज विक्रम नेम्वाङको कारण खुलाउदै राजीनामाको घोषणा गरेका थिए ।

 

 

तर, पछि उनले राजीनामा फिर्ता लिदै एन्फासँगको सम्झौता थप गरेका थिए ।

 

 

 

 

अलमुताईरीको नेतृत्वमा नेपालले १७ अन्तराष्ट्रिय खेल खेलेको छ । कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलो खेल इराकविरुद्ध खेलेको थियो भने अन्तिम खेल इन्डोनेसियाविरुद्ध रह्यो ।

 

 

 

कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले ५ खेल मात्र जित्न सक्यो । तर, १० खेलमा हार व्यहोर्यो । यस्तै दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।

 

 

 

यस्तै उनको नेतृत्वमा नेपालले १७ खेलमा १४ गोल गर्दा ३६ गोल खाएको छ ।

 

 

 

कुवेती प्रशिक्षकले नेपालका युवा खेलाडीलाई भने मौका दिएका थिए । उनले १६ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएका थिए ।