महिला साफ च्याम्पियनसिप: आज नेपाल र भारत भिड्दै

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।

 
नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।

 

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।

 

भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ ।

 

समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह बी को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।

 

 

भारतले समूह ए को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।

 

 

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।