यी पाँच सहकारी विरुद्ध ठगीको आरोप, ६३३ जना बचतकर्ताले दिए विभागमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका पाँच वटा सहकारी विरुद्ध ४ करोड ठगी गरेको आरोप लागेको छ।

महानगरपालिका भित्र सञ्चालनमा रहेको सहकारी विभागमा पाँच वटा सहकारी विरुद्ध ठगीको उजुरी परेको हो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विभागमा सहकारीहरुले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।

उजुरी परेका सहकारीहरुमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, आरक्ष बचत तथा ऋण सहकारी र नवसंकल्प बचत तथा ऋण सहकारी रहेका छन्।

यी सहकारी विरुद्ध ४ करोड ५ लाख ९१ हजार ६३३ रुपैयाँ मागदावी सहित ६३३ जना बचतकर्ताले विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक करोडभन्दा बढिको मागदावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी परेको थियो ।

एक करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावीसहित जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको छ । यी सहकारीविरुद्ध ४३ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् ।

त्यस्तै, गत भदौ महिनामा दुईवटा सहकारी विरुद्ध बचतकर्ताहरुले ठगी गरेको भन्दै उजुरी दिएका थिए । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीमा बचतका लागि राखेको आफ्नो पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए।

विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ।

डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ। उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गत असोज महिनामा नवसंकल्प बचत तथा ऋण सहकारी संस्था विरुद्ध ठगीको उजुरी परेको छ । उक्त सहकारी रकम हिनामिना गरेको भन्दै १७ लाख ४८ हजार ७४४ रुपौयँ बराबरको मागदावी सहित ६७ जनाको उजुरी परेको विभागले जनाएको छ ।