दिनभर ज्याला मजदुरी, राति अध्ययन

काठमाडौं। विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा धनी परिवारका विद्यार्थी अध्ययन गर्दैनन्।

दिउँसो ज्याला-मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरका रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन्।विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठनपाठन हुन्छ।

कक्षा पाँचदेखि १० सम्म पढाइ हुने यो रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन्। चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रिना लिम्बू कक्षा १० अध्ययनरत छिन्।

 उनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। रिना दिउँसो सानोतिनो काम गर्छिन् भने छोराछोरीको स्याहारसुसारमा पनि व्यस्त हुन्छिन्।

विराटनगर–४ खारजी बस्ने रिनाको पढ्ने सौखमा भने कुनै कमी आएन। संखुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइसराइ गरी विराटनगर आएपछि रिनाले अध्ययनलाई अगाडि बढाउन पाइनन्।

दुई वर्षअघि रिनालाई पुनः पढ्ने रहर भयो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना भइन्। उनले उच्च शिक्षा हासिल गर्ने मन बनाएकी छन्।

तर रात्रि विद्यालयमा कतिपयले भर्ना लिए पनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताइन्। उनका अनुसार फुर्सद पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउँछन्।

रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौंका लागि प्रेरणाको स्रोत बनेको उनले बताइन्।

 रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन्। विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पुर्‍याउने खतरा उत्तिकै छ । एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै बिदा दिनुपर्ने अवस्था छ।

विद्यालयसँग आफ्नै सवारीसाधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ

सहायक प्राचार्य खुशीराज गौतमले दिउँसो कामको कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताए।

खाने मुखलाई जुँगाले छेक्न सक्दैन भनेझैं इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ।रासस,