कुवेतमा अलपत्र ७ जना कामदारको उद्धार

काठमाडौं। वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका ७ जना नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ।

नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको थियो।

अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो।

उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्।

सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ।

सातै जनालाई हाल चाबहिलस्थित एक होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ।रासस