निर्वाचन लक्षित सुरक्षाले ठूला तस्करी कम

काठमाडौं। आगामी ४ मंसिरको निर्वाचन लक्षित सुरक्षा संयत्रको परिचालनले सीमाक्षेत्रमा हुने अवैध ओसार पसारमा केही कमी आएको छ।

निर्वाचनमा हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गर्न तीनवटै सुरक्षा निकाय सक्रिय भएको र दुवै मुलुकका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको समन्वयात्मक बैठकले पनि ठूला तस्करीमा केही कमी आएको हो ।

राष्ट्र बैंककले जारी गरेको प्रावधान र आर्थिक मन्दीका कारणले बजारमा पैसा नहुँदा पनि सीमा नाकामा हुने चोरी पैठारी र तस्करीमा कमी आएको हो । राष्ट्र बैंकले कर्जा पुँजीसम्बन्धी मार्गदर्शन २०७९ जारी गरेपछि व्यवसायीहरू लगातार आन्दोलनमा छन् । व्यवसायीहरू सडकमा आन्दोलन गर्न थालेपछि बजार पनि प्रभावित भएको छ ।

अवैध सामान ओसार पसारकै कारणले सधैं बदनाम हुँदै आएको सीमा नाका अहिले बजारमा आएको मन्दी र मूल्यवृद्धिले सामानको मागसमेत घटेको व्यापारीहरू बताउँछन् ।

सीमा क्षेत्रमा हुने चोरी पैठारी राजस्व चुहावट नियन्त्रण तथा सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको तथ्यांकले पनि पछिल्लो एक महिना यता तस्करी घटेको देखिन्छ ।

सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्सा, वीरगन्जको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि असोजसम्म राजस्व छलिका आशंकामा नियन्त्रणमा लिएका ट्रकसहितको विभिन्न सामानको तथ्यांकका आधारमा तस्करी कम भएको देखिएको हो ।

सशस्त्र प्रहरीको १३ नम्बर गण हेडक्वाटरले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा लत्ता कपडा, मोटर पार्ट्स, ट्रक, विद्युतीय सामान, मदिरा, काठ, किराना सामान, मोबाइल पार्ट्स सुर्तीलगायतका भन्सार छलि गरेका सामान गरी एक करोड २२ लाख ४३ हजार ५ रुपैंयाँ मूल्य बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै भदौ महिनामा पनि एक करोड ९७ लाख ७१ हजार ७ सय २८ रुपैंयाँ मूल्य बराबरको र असोज महिनामा तीन करोड १४ लाख ९ हजार ४ सय ३७ मूल्य बराबरको सामानसहितको ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्सा वीरगन्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले बताए ।

उनका अनुसार कात्तिक महिनामा राजस्व छलि गरी भित्र्याइएका सामानको बरामद अनुपात घटेको छ । कात्तिक महिनाको २५ गतेसम्ममा मोटर पाटर््स, लत्ता कपडा, कार, इलेक्ट्रिकल सामानसहित जम्मा ५५ लाख ८८ हजार मूल्य बराबरको मात्रै सामान बरामद गरिएको छ । बरामद गरेको छ ।

सामानको मूल्य आंकडामा हेर्दा तस्करी कम भएको देखिन्छ । यसो हुनुमा अवैध रुपमा भित्र्याइने अधिकांश ठूला तस्करीका सामान रोकिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतको दाबी छ ।

चालू आर्थिक वर्षको असार, साउन, असोजमा सामान लोड गरिएका ट्रकहरू नै विल विजकभन्दा बढी सामान लोड भएको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । सामानसहित ट्रकको मूल्य जोड्दा बढेको देखिएको हो ।

साउनपछि भदौ, असोजमा लगातार बरामद सामानको मूल्यांकन बढेको पाइएको छ । कात्तिकमा भने बरामद सामानको मूल्यको अनुपात कम देखिएको छ ।काराेबार दैनिकबाट।