मतदान स्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

काठमाडौं। यही ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान रूस्थल पठाउन सुरु गरिएको छ ।

मतदानस्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन लागिएको हो ।

बुधबार भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । नजिक मतदान स्थलमा बिहीबार पठाइने भएको छ ।

बिहीबारसम्म सबै मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी पुगि सक्नुहुन्छ,” प्रमुख भण्डारीले भने । जिल्लामा ३ हजार ७ सय २० जना कर्मचारी परिचालन गरिँदै छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिएर खटाइएको उनको भनाइ छ ।

तीनवटै निर्वाचन क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको थियो । २५ कात्तिकदेखि क्षेत्र नं १ मा, २६ कात्तिकदेखि क्षेत्र नं २ र २७ कात्तिकदेखि क्षेत्र नं ३ मा तालिम दिएको उनले बताए ।

निर्वाचनको तयारी अन्तिम चरण पुगेको उनको भनाइ छ । “निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ,” प्रमुख भण्डारीले भने । उनका अनुसार जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र छन् । घोराही र तुलसीपुरमा २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन् ।

जिल्लामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशिलता अनुसार सुरक्षाकर्मीको परिचालन हुनेछ । भौगोगिक तथा राजनीतिक प्रभावअनुसार सुरक्षाकर्मीको परिचालन गरिने बताइएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि ३ वटा क्षेत्र र प्रदेश सभातर्फ ६ वटा क्षेत्र रहेका छन् ।

४ मतदान केन्द्र महिलाको जिम्मा

प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा जिल्लामा चारवटा मतदान केन्द्रको महिलालाई जिम्मा दिइने भएको छ । क्षेत्र नं २ को ३ वटा मतदान केन्द्र र क्षेत्र नं ३ को १ वटा मतदान केन्द्र महिलालाई मात्र जिम्मा दिइने भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृपासुर कार्कीले जानकारी दिए ।

क्षेत्र नं १ मा भने महिलालाई मात्र जिम्मा दिएको मतदान केन्द्र नरहेको उनको भनाइ छ । महिलालाई जिम्मा दिएको मतदान केन्द्रमा सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मदतान अधिकृत, सहयोगी सबै महिला रहेको उनले बताए ।