४ महिनामा १११६ किलो सुन आयात,७ अर्ब ९५ करोड बढी रकम बाहिरियो

काठमाडौं। चालु आर्थि वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ। सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ।यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो।

गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो । यसका लागि १४ अर्ब ९५ करोड ५ लाख रुपैयाँ बाहिरिएको थियो।

सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैं तिहारमा हो । नेपाल राष्ट्र बैंकले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो।

सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ । तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ।

गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो।

गत साउनमा १ अर्ब ४८ करोड रुपैयाँको सुन भित्रिएको थियो । भदौमा दुई अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो।

त्यसपछि असोजमा दुई अर्ब १४ करोड र कात्तिकमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरका सुन भित्रिएका छन्।

मंसिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधि बढ्ने गरेको छ । त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ ।