क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाले भोलि थापाथलीको सुकुम्बासी बस्तीमा ऐक्यबद्धता सभा गर्ने

काठमाडौं । क्रान्तिकारी माओवादी सम्बद्ध सुकुम्बासी संगठन लगायत जनवर्गीय तथा जातीय मोर्चा संगठनहरुले थापाथली स्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिका, अधिकार सम्पन्न बागमती सभ्यता र उपत्यका प्राधिकरणले संयुक्त रुपमा गरेको डोजर आक्रमण र दमनका विरुद्ध जारी प्रतिरोध आन्दोलनको समर्थनमा ऐक्यबद्धता–सभा गर्ने भएका छन्।

थापाथली स्थित सुकुम्बासी बस्तीमा दिनको १ बजे हुने ऐक्यबद्धता सभामा सुकुम्बासी नेताहरुका साथै क्रान्तिकारी माओवादी सम्बद्ध जवस मोर्चाका नेताहरुले ऐक्यबद्धता मन्तव्य राख्ने जनाइएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले सुकुम्बासीहरुलाई वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती उठिबास नलगाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध सबै निकायलाई चेतावनी दिंदै आएको छ । बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सम्बद्ध सरोकारवाला पक्षबीचको छलफल र सहमतिबाट दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गर्दै आएको छ ।

थापाथलीस्थित सुकुम्बासी बस्तीलाई जबर्जस्ती उठिबास लगाउने गरी काठमाडौं महानगरका प्रमुख मेयर बालेन्द्र साहले डोजर लिएर बस्तीमा आक्रमण थालेपछि सुकुम्बासीहरुले कडा प्रतिरोध गरेका थिए । अहिले उक्त डोजर आक्रमणको चौतर्फी रुपमा विरोध भइरहेको छ । तर यही अवस्थामा उपत्यका प्राधिकरणले पुनः ३५ दिने सूचना जारी गरेर उपत्यकाभरिका सुकुम्बासीहरुलाई थप आक्रोशित र उत्तेजित बनाइरहेको छ ।