देशभर सोमबार रातीदेखि वर्षा र हिमपातको सम्भावना,सबै भन्दा कम तापक्रम जुम्लामा

काठमाडौं। सोमबार रातीदेखि मुलुकको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले बताएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भारतको बिहार आसपासको न्यून चापिय प्रणालीका कारण आगामी ३ दिनसम्म केही स्थानमा हिमपात र हल्का बर्षाको सम्भावना रहेको जानकारी गराएकी छिन् ।

प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ भने तराईका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना छ,उनले भनिन् ।

आगामी ३ दिनसम्म वर्षा र हिमपातका कारण चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.१ डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।