प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले आज शपथ ‍लिदै

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ ‍लिदै हुनुहुन्छ ।

उहाँले राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम तय भएको हो । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सभामुख चयन नहुँदा प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सांसदहरुलाई शपथ दिलाउनुपर्छ । सोही व्यवस्था अनुरूप ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संसद भवनमा नवनिर्वाचित अन्य सदस्यलाई बिहिबार दिउँसो १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सदस्यहरुले शपथ लिएपछि पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।