दुर्गम जिल्लाको पिडा: बझाङमा विद्यार्थीले पढ्नलाइ पालो कुर्नुपर्ने बाध्यता,१३० विद्यार्थी २ जना शिक्षिका

काठमाडौं। बझाङको केदारस्युँ गाउँपालिका-९ मा रहेको जवा प्राथमिक विद्यालयको अवस्था दयनीय रहेको छ ।गाउँको छेउमा अवस्थित जवा प्राविमा १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

सोही विद्यालयमा शिशु कक्षादेखि ३ सम्म पढाई हुन्छ। यस विद्यालयमा सबै विद्यार्थीहरु दलित समुदायका मात्रै अध्ययन गर्छन्। सेकुको ठूलो गाउँमा गैरदलितका बालबालिका गाउँ नजिकै रहेको अर्को विद्यालयमा पढ्छन्।

विद्यालयमा एक तले ३ कोठाको एउटा मात्रै भवन छ । स्थापना कालमा लगाएको यो भवन पनि पानी पर्दा चुहिने गर्छ।

भवन जीर्ण अवस्थाको रहेको छ । विद्यालयमा बालबालिकालाई बस्नका लागि टेबुल बेन्च समेत छैनन्। ३ कोठा रहेकोमा एकमा अफिस (कार्यालय) राखिएको छ भने बाँकी रहेका २ कोठामा विद्यार्थीहरुलाई अध्यापन गराउने काम हुन्छ।

कक्षा २ र ३ का विद्यार्थीसँगै राखेर पढाउदा केही पनी बुझ्न नसकिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामीले बताएकी छन् । पाठ्यक्रम फरक- फरक हुन्छ ।

दुई कक्षाका विद्यार्थी एउटै कक्षा कोठा बसेर पढ्दै आएका छन् । अलग अलग बस्नका लागि कक्षा कोठा पनि छैन । शिक्षक पनि छैनन् । शिक्षकका लागि कुरेर बस्नु पर्छ।

कति बेला शिक्षकले पढाउन आउनुहुन्छ भनेर कुरेर बस्नुपर्छ । हाम्रो पालो कति बेला आउन्छ भनेर बस्नु पर्ने छात्रा कामीको भनाइ छ। कक्षा कोठा अभावका कारण कहिले विद्यालयको छुट्टी चाँडै गर्नु पर्ने अवस्था सिर्जना हुने गरेको विद्यालयका कार्यरत शिक्षिका मञ्जु बिकले बताउनुभयो ।

उहाँले भन्नुभयो,विद्यालयमा २ वटा मात्रै कक्षा कोठा छन् । २ जना शिक्षिका छौं । कक्षा कोठा अभावका कारण शिशु र कक्षा १ मा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेरसँगै पढाउदै आएका छौं । कक्षा २ र ३ मा अध्ययन गर्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर अध्यापन गराइएको छ ।

एउटै कक्षामा अलग अलग कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई राखेर पढाउदा शिक्षामा भने जस्तो प्रभावकारी र गुणस्तरीय हुन सकेको छैन् । एकतर्फ पढाउन खोज्यो अर्को तर्फको विद्यार्थीले हल्ला गर्छन् । अर्को तर्फ पढाउन खोज्यो अर्को तर्फकोले हल्ला गरिहाल्छन् ।

सँगै राखेर विद्यार्थीलाई अध्यापन गराउदा निकै गाह्रो हुने गरेको छ । आफूहरुले शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि विभिन्न शैक्षिक सामग्री प्रयोग गरेर, गृहकार्य दिएर १०-१० मिनेट दिएर विद्यार्थीलाई पढाउदै आएका छौं ।

शिक्षक अभाव र कक्षा कोठा अभावका कारण शिक्षण सिकाई प्रकृयाबाट आफूहरु अघि बढिरहेका विद्यालयकी प्रध्यानाध्यापक आशा सिंह शाहीको भनाइ छ ।

उहाँले भन्नुभयो,केही समय अघि स्वयंसेवक शिक्षक पालिकाले उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै विद्यालयका पढाउदै आएका एक जना स्वयंसेवक शिक्षक भारत गएपछि थप समस्या भएको हो ।

विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारीहरुलाई समेत पटक-पटक जानकारी गराईसकेका छौं ।

तर अहिलेसम्म अवस्था ज्युँकात्यू छ । सुनुवाईसम्म पनि हुन सकेको छैन । कहिले काहीं काम विशेषले एक जना शिक्षिका विद्यालयमा उपस्थित हुन नसेको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।

विद्यालयको दूराअवस्था देख्दा आफूहरुलाई नराम्रो लाग्ने गरेको स्थानीय गेडे कामी बताउनुहुन्छ । केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहरा, उपाध्यक्ष मनिशा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्याय सहितको समूहले विद्यालयको स्थलगत निरीक्षण समेत गरेको स्थानीयवासी बताउछन् ।

यस विद्यालयको विषयमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको बताएका छन् ।

तर केही समय भित्रै भवनका लागि आफूहरुले पालिकाबाट बजेट विनियोजन गर्ने गरी काम अघि बढाई सकेको उनीहरूको भनाइ छ। तत्काल समस्या समाधानका लागि पालिकाबाट केही रकम विद्यालयलाई विनियोजन गरिने र शिक्षक उपलब्धताका लागि प्रकृया अघि सारी सकेको समेत उनीहरूको दावी छ।

केही दिनभित्रै शिक्षक विद्यालयमा उपलब्ध गराउने केदारस्युँ गाउँपालिकाले जनाएको छ ।