एमालेबाट यी नेताहरू मन्त्री बन्दै (नामावलीसहति)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत प्राप्त गरिसकेका छन् । अब मन्त्रिपरिषद् विस्तारबारे सत्तासाझेदार दलहरूबीच छलफल हुने नेताहरूको भनाइ छ ।

सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा ९एमाले०बाट चार मन्त्री नियुक्त भइसकेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

एमालेका नेताहरू दामोदर भण्डारी, ज्वालाकुमारी शाह र राजेन्द्रकुमार राई पनि मन्त्रीमा नियुक्त भइसकेका छन् । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका उनीहरूको मन्त्रालय टुंगो लाग्न बाँकी छ।

अब एमालेबाट को–को मन्त्री हुनेछन् भन्ने निर्णय भइसकेको छैन। एमाले उपमहासचिव विष्णु रिमाल मन्त्रालयको टुंगो लागेपछि मन्त्रीका लागि मापदण्ड बनाइने बताउँछन्। उनका अनुसार केही नयाँ अनुहारले अवसर पाउनेछन्। केही पुरानै अनुहार दोहोरिनेछन् ।

“कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन। प्रधानमन्त्री आज गोरखा जानुभएको छ । फर्किएपछि मन्त्रालयबारे छलफल हुन्छ, रिमालले बाह्रखरीसित भने, मन्त्रालयको टुुंगो लगाएपछि पार्टीमा मापदण्ड बन्छ । नयाँ र पुराना दुवै समेटिनुहोला ।

चर्चामा को–को ?
महत्त्वपूर्ण मन्त्रालय पाएमा पदाधिकारी नै मन्त्री बन्न सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू रघुवीर महासेठ र टोपबहादुर रायमाझी मन्त्री बन्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । गुरुङको नाम सभामुख पदका लागि पनि चर्चामा छ ।

सांसदहरू एलपी साँवा, देवराज घिमिरे वा भगवती चौधरीमध्ये एकलाई सरकारमा पठाउने सम्भावना रहेको नेताहरू बताउँछन् । पर्वतका पदम गिरी पनि अबको मन्त्रीका लागि बढी चर्चामा छन् ।

पार्टीका सचिव छविलाल विश्वकर्मा समेत मन्त्री बन्न सक्ने बताइन्छ । उनले भने सभामुखका लागि दाबी गरिरहेका छन् । उनी मन्त्री नबने पोलिटब्युरो सदस्य एवं स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले अवसर पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।