बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित

काठमाडौं ।बागमती प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन्।

आज प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन्।

आजको प्रदेश सभामा एक सय १० सदस्य रहेकोमा एक सय आठ जना सदस्य बैठकमा उपस्थित भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

बैठकमा उपस्थितमध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले। विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्‍यो।

चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए।रासस,