कांग्रेस सांसद टेकबहादुर गुरुङसहित यी ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर,सजाय फागुन २५ गते तोकिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

भृकुटीमण्डपस्थित फमपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

तत्कालीन महिला वालवालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले मंगलवार ९ जनालाई दोषी ठहर गरेको छ ।

गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए । मुद्दा विचाराधीन रहेकै बेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित शालिग्राम कोइराला र बलभद्र बास्तोलको संयुक्त इजलासले पूर्वमन्त्री तथा हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता बद्री प्रसाद न्यौपानेलाई पनि दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सन्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

टेकबहादुर गूरुङ सो भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका छन् भने तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, बलवहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका छन् । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।