यो गठबन्धन ५ वर्षसम्म टिक्छ ओलीलाइ देखाइ दिन्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन ५ वर्ष टिक्ने बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिन काठमाडौंको तीनकुनेमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने पनि बताए।

हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,उनले भने,मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि सुरू गर्छु।उनले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रूमलिएको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। सरकारबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बाहिरिएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न ७ दल सहमत भए पनि यी दल सबै सरकारमा भने सहभागी भइसकेका छैनन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने पनि बताए। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताए। ‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ। उहाँ राष्ट्रपति हुनु हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ।

८ दलले संघीय सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिन सुरू गरेको छ। शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यसँग अन्तर्क्रिया गर्ने ८ दलको तयारी छ।