सत्ता गठबन्धनभित्रै उपगठबन्धन यसरी तयार भयो? जसपालाई घेर्दै यी तीन दल

काठमाडौं। १० दलीय गठबन्धनभित्र उपगठबन्धन बनेको छ। राष्ट्रपति निर्वाचनका लागि कांग्रेस माओवादीसहित १० दलको गठबन्धन बनेको थियो । तर, आगामी चैतमा हुने उपराष्ट्रपति निर्वाचनमा भने गठबन्धनभित्र उपगठबन्धन बनेको छ ।

१० दलीय गठबन्धनबाट तीन जनाले उम्मेदवारी दिँदा एमालेले पनि उम्मेदवारी दिएको छ ।उपराष्ट्रपतिमा सत्तारुढ दलबाट जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने जनमत पार्टीकी नेता ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।जनमत पनि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल हो । त्यति मात्र होइन जसपालाई घेर्न उपगठबन्धन बनेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनावकै मुखमा कार्यगत एकता गर्ने सहमति गरेर उपगठबन्धन गरेका हुन्।

सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् । श्रेष्ठका अनुसार गठबन्धनभित्र ३ जना उम्मेदवार उठाउने सहमति भएको हो ।

कार्यगत एकताको निर्णयमा पुगेका यी तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व रहेको छ । यी पार्टी कांग्रेस,माओवादी गठबन्धनमा रहेका छन् ।

तर उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि जनमत पार्टीको तर्फबाट झाले उम्मेदवारी दिएकी छन् । यसअघि श्रेष्ठ पनि उम्मेदवार बन्न इच्छुक थिइन् । तर, उमेर नपुग्दा उनी उम्मेदवार बन्न पाइनन् ।

यसरी तीन दलले जसपाका उम्मेदवारलाई रोक्ने प्रयास गरेका हुन् ।

जसको पुष्टि जसपाका उम्मेदवार यादवविरुद्ध जनमतले दिएको उजुरीबाट पनि पुष्टि हुन्छ । राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनु पर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।

यादवविरुद्ध एमोलले पनि उजुरी दिइसकेको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीको आइतबार १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताए ।

उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको सातदलीय गठबन्धन १३ फागुनमा आएर भत्किएको थियो । राष्ट्रपतिका लागि भत्किएर नयाँ गठबन्धन बन्यो ।

जसमा १० दल सहभागी भएर २५ पुसमा भएको राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराए । तर, शनिबार उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दासम्म आइपुग्दा भत्किएको हो ।