कांग्रेस यी नेताको नेतृत्वमा सरकारमा सहभागी हुँदै,नारायणकाजीको उपप्रधानमन्त्री खोसिने पक्का

काठमाडौं ।नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन्। त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन्। मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन्।

हिजो गठबन्धनको बैठकमा पनि यसबारेमा छलफल भएको थियो । तर नेताहरु हिजो मन्त्रालय बाँडफाँटको सहमतिमा पुग्न सकेका थिएनन्। प्रधानमन्त्री दाहालले यसपटक सरकारलाई पूर्णता दिँदा उपप्रधानमन्त्री नराख्ने भएका छन्।

उनले यसबारेमा कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका छन्। अहिले भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीको मात्रै जिम्मेवारी दिने दाहालको योजना छ।

यसअघि एमाले, राप्रपा र रास्वपा सरकारमा हुँदा चार जना उपप्रधानमन्त्री थिए। चार-चार जना उपप्रधानमन्त्री हुँदा सरकारको आलोचना भएको थियो।

प्रधानमन्त्री दाहालले ढिलोमा चैत्र १३ गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने घोषणा गरेका छन्। स्रोतकाअनुसार कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले २÷२ र अन्य दलहरुलाई एक÷एक मन्त्रालय दिने प्रस्ताव छ ।