मन्त्रालय भागबण्डाले गठबन्धन भित्र सकस,गृह र अर्थ मन्त्रालयमा जान मारामार ?

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो।

उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनुभयो।

उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताउनुभयो।

उहाँले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उहाँले बताउनुभयो।

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गर्नुभयो।

सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उहाँको भनाई छ। 

त्यस्तै गृह र अर्थ मन्त्रालय काँग्रेसले नछाेड्ने पनि उपसभापति पूर्णबहादुर खड्काले बताउनु भयाे।

  जसअनुसार माओवादीले गृहमन्त्रालय पाउने पक्का जस्तै भएको छ शनिबार मात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्‌कासँग छलफल गरेर गृह माओवादीले राख्‍ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो।

देउवासँगको छलफलपछि प्रचण्डले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरेर गृहमन्त्री बनाउने तयारी गरेको उनी निकट एक नेताले बताए।

आज मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको छ। एक सय दिन पुगेको अवसरमा उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेका छन्।

प्रचण्डले चैत १० गतेसम्म मन्त्रिपरिषद्‌ विस्तार गरिसक्‍ने बताएका थिए । आइतबार सत्तारुढ दलहरू बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ।