कांग्रेसबाट अर्थमन्त्रीमा प्रकाशशरण महत पक्का,यी हुन् काँग्रेसले मन्त्री बनाउने सांसदहरू?

फाइल तस्वीर

काठमाडौं।  नेपाली कांग्रेसका पार्टी पदाधिकारीहरूकै चर्को विरोधका वावजुद सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा.प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन्। पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको नेताहरू बताउँछन्।

अर्थ मन्त्रालयको जिम्मेवारी लिने गरी पार्टीबाट सरकारको नेतृत्व गर्ने गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए। तर, पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि खड्का अर्थमन्त्री हुनबाट वञ्चित भएका हुन् ।

त्यस्तै काँग्रेसबाट मन्त्री हुने अन्य सांसदहरुमा ब्रदी प्रसाद पाण्डे, एनपी साउद, उदयशम्शेर राणा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, रमेश रिजाल, आरजु राणा, जीवन परियार,डिगबहादुर लिम्बु, विनोद चौधरीलगायत मन्त्री हुने सम्भावना बढेकाे छ।

देउवाको अडानले पार्टीबाट नेतृत्व गरेर जाँदा रोजेको मन्त्रालय खड्काले पाउने पूर्व भाष्यले काम गर्न सकेन। पार्टीभित्रका सबैजसो नेता खड्काले नेतृत्व गरेर जाँदा उनले इच्छाएको मन्त्रालय पाउनेमा विश्वस्त थिए। तर, सभापति देउवाले प्रवक्ता महतलाई जुनसुकै हालतमा पनि अघि सार्न खोजेपछि अरू नेताको सुझाव पार्टीमा सुनुवाइ भएन ।

‘सभापतिले अर्थमन्त्री बनाउने निर्णय गरेपछि अरूको रायले काम गरेन’ संस्थापन पक्षका शीर्ष तहका एक नेताले भने। अर्थमन्त्री महतलाई बनाउने देउवाको अडानबाट उपसभापति खड्का असन्तुष्ट रहेको कांग्रेस स्रोतको दाबी छ।

गहिरिंदो आर्थिक संकटको निराकरण गर्न सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने नेताहरूको राय थियो।

गत शनिबार कार्यसम्पादन समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले भनेका थिए,‘हामीले अर्थमन्त्री बनाउने व्यक्तिको नाम सुन्नासाथ शेयर बजार उकालो लागोस्। पार्टीभित्र अधिकांश नेताले अहिलेको सरकार सफलता र असफलताको मापन अर्थमन्त्री हुने भएकाले सक्षम व्यक्ति अघि सार्न सुझाव दिएका थिए ।

‘महतलाई अर्थमन्त्री बनाउन नहुनेमा व्यापक असन्तुष्टि हुँदाहुँदै सभापतिले नाम टुंगो लगाउनुभएको छ,देउवा पक्षका एक नेता भन्छन्।अघिल्लो पटक काठमाडौं–५ मा पराजित महतले सोही स्थानमा दोहोर्‍याएर उम्मेदवार हुन पाउने थिए।

साथै, नुवाकोटमा प्रत्यक्ष उठ्न चाहेको भए पनि टिकट पाउने थिए। तर प्रत्यक्षमा उठेर जोखिम मोल्न नचाहेका उनी समानुपातिकमा बसे। खस आर्यतर्फको पहिलो नम्बरमा परेका उनले तीन जना पुरुष पर्दा समानुपातिकबाट सांसद पक्का गरे।

जनजाति क्लष्टरमा पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ र मुस्लिम समुदायमा पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई उछिने र उनी सांसद भए। त्यतिबेला देउवाको रोजाइमा परेका महत पुन शक्तिशाली मन्त्रालयमा पुग्दैछन्।

‘काठमाडौं र नुवाकोटमा टिकट नपाएर उहाँ समानुपातिकमा बस्नुभएको होइन। चुनाव लड्ने आँट उहाँमा नभएको हो,कांग्रेसका एकजना नेता भन्छन्।

कांग्रेसका एकजना केन्द्रीय पदाधिकारीका भनाइमा,दुई कारणले महतलाई अर्थ मन्त्री बनाउनुहुन्न भन्ने मत पार्टीभित्र बलियो छ।

पहिलो उनले अहिलेसम्म असाध्यै धेरै अवसर पाएका छन्। दोस्रो मुलुकले भोगिरहेको आर्थिक संकटको समाधानमा नेतृत्व गर्न सक्ने क्षमताको अर्थमन्त्री खोजी गर्नु जरूरी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महतलाई अर्थमन्त्री बनाउने पक्षमा थिएनन्। प्रचण्डसँग बिहान भेटेका देउवाले उनलाई समेत कन्भिन्स गराएका थिए।

दुई दिनअघि देउवासँग अर्थमन्त्री पक्का गरेपछि महतले पनि प्रधानमन्त्रीलाई भेटेका थिए।देउवाको निकट भएकै कारण महतले किन पटक–पटक अवसर पाइरहन्छन्?

देउवाले महतलाई विश्वास गर्नुमा २/३ कारण रहेको कांग्रेस राजनीतिलाई बुझेकाहरू व्याख्या गर्दछन्। देउवा समूहमा रहेका अन्य नेताले पनि महतले सरह सभापतिको विश्वास अरूले जित्न सकेका छैनन्।

देउवाले महतलाई विश्वास गर्नुको अर्को कारण उनी निकटका वफादारको कमी हुँदै जानु पनि रहेको विश्लेषण हुने गरेको छ। देउवाको टीममा उनीप्रति वफादार हुनेहरूको संख्यामा कमी हुँदै गएको छ। सानो समूहमध्येबाट देउवाले उनलाई बढी विश्वास गर्छन्’,कांग्रेसको राजनीतिका जानकार पुरञ्जन आचार्य भन्छन् ।

२०४० सालमा बलबहादुर केसी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा महामन्त्रीमा मनोनित भएका महत, २०५६ सालमा योजना आयोगको सदस्य भएका थिए।

देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा २०५८ उनले राजनीतिक सल्लाहकारमा नियुक्ति पाए। २०६१ मा देउवा नै प्रधानमन्त्री रहेका बेला महत परराष्ट्र राज्यमन्त्री भए।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा महत समानुपातिकतर्फको उम्मेदवार बने। २०६६ सालमा माधव नेपालले नेतृत्व गरेको सरकारमा ऊर्जा मन्त्री भए।

२०७३ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए। पार्टी विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवाले आफूलाई साथ दिएका धेरैलाई केन्द्रीय सदस्यमा समेटे।

२०६४ सालमा मूलधारको कांग्रेससँग प्रजातान्त्रिक समाहित भयो। पार्टी एकीकरण गर्ने बेला दुवैतर्फका केन्द्रीय समिति सदस्यहरू हुने सहमतिले सोही पदमा रहने बाटो खुल्यो।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। यो बाहेक पार्टीको आन्तरिक निर्वाचनमा उनले जितेको इतिहास छैन।

१३ औं महाधिवेशनपछि देउवाले सहमहामन्त्रीमा महतलाई मनोनित गरे। १४ औं महाधिवेशनमा आइपुग्दा आफ्नो समूहका आकांक्षीलाई पछि पार्दै महत महामन्त्रीमा देउवा समूहबाट पराजय भोगे।

१७ पुस २०७८ मा देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे। केन्द्रीय सदस्य बनाएको अर्को महिनामा देउवाले उनै महतलाई प्रवक्ता नियुक्त गरेका थिए।

काँग्रेस भित्र सबै भन्दा भाग्यमानी नेताका रूपमा महतकाे नाम अगाडी आउने गरेकाे पाइन्छ त्यसैले अवसरको चाङमा रहेका महतले अहिले पनि मन्त्री हुने अवसर जुराइ सकेका छन्।