यस्ता छन् बैठकमा प्रधानमन्त्रीले पेश गरेका न्यूनतम साझा कार्यक्रमका मस्यौदा

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन्।

अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए। ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो। भोलि त्यसमा छलफल हुन्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पेश गरेको मस्यौदामा सरकारको प्राथमिकतालाई ९ वटा बुँदामा समेटिएको छ। पहिलो बुँदा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय छ। जस अन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने लगायतका विषय समावेश छन्।

दोस्रो बुँदामा आर्थिक अवस्थालाई ख्याल गरेर ‘आर्थिक प्याकेज’ ल्याउने उल्लेख छ। त्यसपछिको बुँदामा सुशासन, संक्रमणकालीन न्याय, सन्तुलित परराष्ट्र नीति लगायतका विषय समावेश रहेको नेताहरुले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले मंगलबार पेश गरेको उक्त मस्यौदामा बुधबार छलफल हुने छ। त्यसपश्चात न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने सत्तारुढ दलहरुको तयारी छ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए। उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए। कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने।