ओलीसँग झुट र ठगी बाहेक अरु केही छैन: अध्यक्ष माधव नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओलीको प्रवृत्तिले एमालेका नेता कार्यकर्ता धुरुधुरु रोइरहेको बताएका छन्।

एकीकृत समाजवादी सुनसरीले बुधबार इनरुवामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

छिट्टै बुद्धि सपारेर मूल लक्ष्यमा ओलीले अटेर गर्दा एमालेका थुप्रै नेता तथा कार्यकर्ताहरू धरधरी रुदै छन्,उनले भने,रुँदारुँदा आँसु सकिएपछि ओली देखेपछि थुचुक्कै हुने केही डरछेरुवा बाहेक कम्युनिष्टहरू नेकपा एसको लाइनमा आएर समाजवादको यात्रामा सहभागि हुने छन्।

उनले नेपालमा कम्युनिष्ट नाम गरेका थुप्रै पार्टीहरू भएपनि एकीकृत समाजवादी मात्रै सच्चा कम्युनिष्ट भएको दाबी गरे। एमालेले नेपालका कम्युनिष्टको बदनाम गरेको पनि उनको भनाइ थियो।

उनले भने,नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरू भएपनि नेकपा एस मात्रै सच्चा कम्युनिष्ट पार्टी हो,एमालेका केपी शर्मा ओलीको प्रवृत्तिले कम्युनिष्टको बदनाम गरेको छ।

युरोप र अमेरिकाले कम्युनिष्ट मास्ने र फुटाउने षड्यन्त्र गरिरहे पनि ल्याटिन अमेरिकाका दर्जनौँ देशमा बामपन्थीको उदय भएको उनले बताए। चिनको प्रगति देखेर युरोप र अमेरिका जलन भएको उनको भनाइ थियो।

उनले भने चीनको प्रगति देखेर जलन भएका साम्राज्यवादी अमेरिका र युरोपीयनहरूले नेपाललाई अखडा बनाएर चीनमाथि धावा बोल्ने र सोभियतसंघ जस्तै बनाउन सकिन्छ की भन्ने दाउमा छन्।

ओली र कांग्रेसका केही पुरातनवादीहरू विदेशी शक्तिको अगाडि लम्पसार पर्ने गरेको पनि नेता नेपालले टिप्पणी गरे। ओलीले अमेरिकी सेना ल्याउने प्रयास गरेको पनि उनले आरोप लगाए।

उनले भने,ओलीले अमेरिकी सेना ल्याउन खोजेकै हुन्। एमसीसी ल्याउन सहयोग गर्छु। माधव नेपालका १४ जनालाई हटाउनुस् भनेर देउवासँग धुपबत्ती गरेकै हुन्। हामीले बडो होसियारी साथ राष्ट्रको सार्वभौमिकता बचाएका छौँ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउन आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्दा ओली पागल जस्तै भएको पनि बताए। ओलीसँग झुट र ठगी भन्दा बाहेक अरु केही नभएको पनि उनको भनाइ थियो।

ओलीले धरापमा पारेको संविधान,लोकतन्त्र आफूहरूले बचाएको उनको भनाइ थियो। उनले भने, ‘ओलीकै कारण संविधान, गणतन्त्र, लोकतन्त्र धरापमा परेको थियो।

गणतन्त्र र संघीयता मास्न खोज्नेविरुद्ध खतरा खोल्ने हामी नै हौँ। त्यसैले अहिले गणतन्त्र र संविधान छ। नत्र यतिबेला मुलुकमा प्रतिगामीहरूको रजाँई हुन्थ्यो।