चीनको निम्तो बेवास्ता गर्दै प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा निस्किने अन्तिम तयारीमा छन्। प्रधामन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारत नै हुने बताएका प्रचण्ड चीनको निम्तिलाई समेत आनाकानी गर्दै अन्ततः भारत भ्रमणमा निस्किने भएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ वैशाख तेस्रो साता तिर भारत भ्रमणमा निस्किने भएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा निस्किने भएका हुन्। प्रधानमन्त्री निकटहरुका अनुसार प्रचण्ड वैशाख तेस्रो साता नै भारत भ्रमणमा जाने छन्।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गएको सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारत भ्रमणको औपचारिक निम्तो दिएको बताइएको छ।

राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री प्रचण्डको भ्रमणको चाँजोपाँजो मिलाउनका लागि दिल्ली गएका थिए।

आइतबार दिल्लीबाट फर्किएका राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेपछि भ्रमणको टुंगो लागेको बताइएको छ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए। तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो।

भ्रमण निश्चित भएपनि मिति भने तय भई सकेको छैन। प्रचण्डको भ्रमणको मिति तय अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।यता परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ।

एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति पक्का गरेको हो।

चीनले समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर छलफल अघि बढाएको छ। तर, प्रचण्डले चीन भन्दा पहिले भारत भमणमा जान चाहेकाले चीन भ्रमणको विषय धकेलिएको बताइन्छ।

कुटनीतिक वृत्तमा प्रचण्डले भारतलाई सन्तुलनमा ल्याउन पनि भारत भ्रमणलाई प्राथमिकता राखेको हल्ला चल्ने गरेको छ।

प्रचण्ड नेतृत्वको सरकारका सहभागी भएको एमाले र अध्यक्ष केपी ओलीले त भारतले हस्तक्षेप गरेको भन्दै सार्वजनिक विरोध नै गर्दै आएका छन्।

भारतले सरकार र गठबन्धन फेरबदलमा हस्तक्षेपकारी भूमिका खेलेको र आन्तरिक मामलामा समेत चासो राख्ने गरेको भन्दै ओलीले आरोप लगाउने गरेका छन्।

ओलीले प्रचण्ड नेतृत्वको सरकार र कांग्रेससहितको गठबन्धनलाई समेत विदेशी शक्तिको आडमा बनेको आरोप लगाउने गरेको छ । यहि परिदृश्यमा प्रचण्डको भारत भ्रमणको प्राथमिकताले समेत प्रश्न भने उब्जाएको छ।