सरुवा र बढुवाका लागि लाभ लिनेदिने दुवैलाई जेल हाल्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा र बढुवाका लागि अनुचित लाभ लिने दिने दुवैलाई कारबाही गर्ने बताएका छन्।

पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको बताउँदै उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी दिए। उनले त्यसो गर्नेहरूलाई कारबाही हुने बताए ।

उनले भने सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो। मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो। बिचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दै छु।

खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु,लिनेलाई पनि जेल हाल्छु। त्रिविमा प्राध्यापकको लागि परीक्षा दिएर आउनुहुन्छ। सेवा आयोगमा भनिदिनुपर्‍यो भन्नुहुन्छ।

शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा पनि त्यही भन्नुहुन्छ,भन्दिन परो भन्नुहुन्छ। त्यसो त हुन्न भन्दा तपाईँले नेपालमा राजनीति गरेर खानुहुन्न,फेरि चुनाव हार्नुहुन्छ भन्नुहुन्छ। १०० पटक चुनाव हार्न तयार छु तर लोकतान्त्रिक र निष्पक्ष मूल्यमान्यता छोड्दिनँ।

हामीले सुशासनको स्थापना गर्न कदम चालेका छौँ,कुन पार्टीको को पर्छ मलाई थाहा छैन। आज कुनै पार्टीको को परे होला,भोलि मेरै पार्टी माओवादीको नेता परेमा आश्चर्य नमान्नुहोला।

त्यो छुट दिइने छैन। भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन नगरीकन समृद्ध देश बनाउने कोरा नारा हो।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिए। उनले समृद्ध देश नबनाई कन आमजनतालाई परिवर्तनको उपलब्धि दिन नसकेको बताए।