वैदेशिक रोजगारीका नाममा २२ महिनामै डेढ अर्ब ठगी

काठमाडौं।देशमा रोजगारी नपाएर भौँतारिएका युवा विदेशमा आकर्षक तलब सुविधाको आश्वासन पाउने बित्तिकै लाखौँ रकम बुझाएर वैध वा अवैध जुनकुनै प्रक्रियाबाट जान तयार हुन्छन्।

बेरोजगार युवाको यही बाध्यता र लोभमा ‘ब्ल्याकमेल’ गर्दै ठगी गिरोहले वैदेशिक रोजगारका नाममा सयौँ व्यक्तिमाथि ठगी गर्ने गरेका छन्, जुन धन्दा मौलाउँदो छ।

पछिल्लो २२ महिनामा वैदेशिक रोजगार विभागमा मात्रै यसरी ठगिएकाहरूको एक हजार पाँच सय १६ उजुरी परेका छन्। जसमा एक अर्ब १८ करोड ६७ लाख ५० हजार ९९ रुपैयाँ ठगी भएको छ। विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म मात्रै आठ सय २१ जाहेरी दर्ता भएका छन्।

जसमा बिगो दाबी गरिएको रकम ६८ करोड २२ लाख ८८ हजार आठ सय ९६ छ । त्यसअघि ०७८/७९ मा ६ सय ९५ जाहेरी दर्ता भएकामा ५० करोड ४४ लाख ६१ हजार दुई सय तीन रुपैयाँ बिगो दाबी थियो।

त्यस्तै, वैदेशिक रोजगारीका क्रममा भएका ठगी मुद्दालाई प्रहरीले पनि अनुसन्धान गर्छ । पछिल्ला ४६ महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा वैदेशिक रोजगार ठगीका तीन सय ८८ जाहेरी दर्ता भएका छन् । जसमा बिगो दाबी गरिएको रकम २१ करोड ८८ लाख ५६ हजार चार सय ५० रुपैयाँ छ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा मात्रै एक सय ३५ जाहेरी दर्ता भएका छन् जसमा ठगीको रकम ११ करोड ५९ लाख ५२ हजार एक सय रुपैयाँ छ। त्यस्तै, ०७८/७९ मा एक सय २७, ०७७/७८ मा ५४ र ०७६/७७ मा एक सय १३ जाहेरी परेका थिए।

ती आर्थिक वर्षमा क्रमशः एक करोड ७५ लाख १४ हजार पाँच सय ५०,एक करोड ३७ लाख एक हजार र सात करोड १६ लाख ८८ हजार आठ सय बिगो दाबी गरिएको थियो।