नेपाल सरकारले थप ५ देशसँग श्रम सम्झौता गर्दै

काठमाडौं। सरकारले थप ५ देशसँग श्रम सम्झौता गर्ने भएको छ। हालसम्म १० वटा श्रम गन्तव्य मुलुकसँग द्वीपक्षीय सम्झौता भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव राजिव पोखरेलले अब जर्मनी, रोमानिया, ओमान, कुवेत र साउदी अरबसँग द्वीपक्षीय श्रम सम्झौता हुन लागेको बताए।

नेपालले हाल कतार, यूएई, दक्षिण कोरिया, बहराइन, जापान,इजरायल, जोर्डन, मलेसिया, मौरिसस, बेलायतसँग द्वीपक्षीय श्रम सम्झौता गरेको छ। अब थप ५ मुलुकसँग चाडै नै सम्झौता गरिने सहसचिव पोखरेलले बताए।

यी देशहरुसँग सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको र दुवै पक्षबीच छलफलपछि अन्तिम रुप दिन लागिएको उनको भनाई छ।

सरकारले नयाँ नयाँ मुलुकको खोजी गर्दै ती देशहरुसँग दुई पक्षीय श्रम सम्झौता गर्ने रणनीति ल्याएको छ। हाल श्रम सम्झौता गरेका मुलुकहरुसँग पनि संशोधन गरेर समयसापेक्ष बनाउदै लगिने सहसचिव पोखरेलले बताए।