काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कम्पनीमा २०७९ पौष मसान्तसम्म रिक्त भएका पदहरू खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको छ।

कम्पनीको प्रचलित कर्मचारी प्रशासन विनियमावली, २०६४ (दसौँ संशोधन) मा व्यवस्था भए बमोजिम देहायका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको हो।दरखास्त फाराम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।

निर्दिष्ट स्थानमा पासपोर्ट साइजको फोटो टाँस गरी आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्रहरू स्वयं प्रमाणित गरी यो सूचना प्रथम पटक गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको मुख्य कार्यालय,त्रिपुरेश्वरस्थित मानव श्रोत विकाश शाखामा बुझाउन आह्वान गरिएको छ।

परीक्षा दस्तुर नबिल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति भौचर संलग्न गर्नु पर्नेछ। दरखास्त दिने अन्तिम मिति पछि ७ दिन सम्ममा दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको अर्को दिनसम्म दरखास्त बुझाउन सकिनेछ ।

उमेरको हकमा अधिकृत स्तरको सातौँ, आठौँ र नवौँ तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौँ तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिला र अपाङ्गता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन्।

यस कम्पनीको कर्मचारी प्रशासन विनियमावली, २०६४ (दसौँ संशोधन सहित) विनियम १८ मा व्यवस्था भए अनुसार परिक्षणकाल हुनेछ।  

 दरखास्त पेस गर्ने उम्मेदवारहरूले सूचनामा तोकिए बमोजिमको परीक्षा दस्तुर बापतको रकम तोकिएको म्याद भित्र र म्याद नाघेको ७ दिनसम्ममा दोब्बर परीक्षा दस्तुर रकम नबिल बैंकस्थित चल्ती खाता नं.०२०१०१७५०१६१६ मा जम्मा गरेको सक्कल भौचर दुई प्रति सहित दरखास्तसाथ पेस गर्नु पर्नेछ।

समावेशी तर्फको आवेदन भर्ने उम्मेदवारहरूले प्रत्येक समावेशीमा परीक्षा दस्तुरको ५० प्रतिशत थप रकम बुझाउनु पर्नेछ। परीक्षा सम्बन्धी कार्यक्रम पछि गोरखापत्रमा प्रकाशित गरिनेछ।