सुन तस्करी छानबिनलाई सहज बनाउन उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाउनुभयो।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजस्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताउनुभयो।

अहिले छानविनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यक्ता औंल्याइरहेको उहाँको जिकिर थियो।

सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाउनुभयो।