माओवादी केन्द्रले केन्द्रीय सदस्यमा २२ महिला थप्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले थप २२ जना महिला नेतालाई केन्द्रीय सदस्य बनाउने भएको छ।

०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरेपनि हालसम्म कार्यान्वयन भएको थिएन।

आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको छ।

निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यता छ।

त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका हुन्।

उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिनेछन्। माओवादी केन्द्रको केन्द्रीय समितिमा हाल ३८७ सदस्य छन्।