दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो: १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।

गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा परी गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परेर गौरीशंकर गाउँपालिका–७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते छन्। उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

वडा अध्यक्ष दावा शेर्पाका अनुसार पहिरोले टोपाटारका तीन घर पुरिएका थिए। सो ठाउँका अरु केही घर जोखिममा रहेका उनले बताए। स्थानीय घट्टे खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आउ–जाउ गर्न पनि खटिन भएको छ।