कांग्रेस सभापति देउवा गरे सामाजिक सद्भाव कायम राख्न अपिल

फाइल तस्वीर

काठमाडौं। केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ।

“परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौँ,कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गर्नुभएको अपिलमा भनिएको छ,नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आ-आफ्नो धर्म-संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन।

नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ।

सामाजिक सद्भाव भड्किँदा निम्तिन सक्ने परिस्थितिको बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय तथा सम्प्रदायलाई सचेत हुन पनि कांग्रेसले आग्रह गरेको छ।

अहिले देखिएको धार्मिक अस्थिरताको संवेदनशीलतालाई मध्यनजर गरी सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घसंस्था एवं समाजका अग्रज व्यक्ति एक ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपिल गरेको छ।