इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि खारेजीसहित विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध

काठमाडौं । अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ।

अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन्।

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई÷आईओएमसँग सम्बन्धित १÷१ वटा पूर्ण आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्ने,प्रधानमन्त्री,शिक्षामन्त्री त्रि.वि.को कुलपति र सह–कुलपति हुने व्यवस्था खारेज हुनुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग राखेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।

बुधबार त्रिवि पदाधिकारी तथा विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको थियो। हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने,विद्यार्थी प्रतिनिधि सहितको गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले दिएको सुझावको आधारमा कायम हुने शुल्क लागू गर्न सबै सहमति हुने लगायतको विषयमा सहमति भएको थियो।

तर, त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच भएको उक्त सहमति नमान्ने भन्दै विद्यार्थी तथा आईओई प्रतिनिधि सहितको नयाँ छलफल हुनुपर्ने माग राख्दै अनेरास्ववियुले विरोध गर्दै आइरहेको छ।