नेम्वाङको निधनमा बिहीबार देशभर सार्वजनिक बिदा

काठमाडौं। सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ। हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको हो।

मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो। दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ। नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

यस्तो छ गृह मन्त्रालयले निकालेको विज्ञप्ति