महामन्त्रीद्धय थापा र शर्माको प्रयास ‘देउवालाई जसरी पनि रोक्ने’

फाइल तस्वीर

काठमाडौं। वर्तमान सत्तारुढ गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री बन्ने सहमति रहेको नेताहरु बताउँछन्। सहमति अनुसार, सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने।

दोस्रो चरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति दलहरुका बीचमा रहेको बताइन्छ।

तर, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन नभएको बताउँछन्। कांग्रेसले सरकारको नेतृत्व गर्ने भएता पनि नेतृत्व गर्ने पात्रको विषयमा अहिले केही भन्न नसकिने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा रोक्ने प्रयास भइरहेको प्रष्ट संकेत गरेका छन्।

नेताहरुका अनुसार, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनबाट विधि बनाएर देउवालाई रोक्ने प्रयास गर्दैछन्। सफल नभए पार्टी महाधिवेशनपछि संसदीय दलको नेता फेरेर अर्कैलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने महामन्त्रीद्धय गगन र विश्व प्रकाशको प्रयत्न हुनेछ।

कांग्रेसबाट राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटकभन्दा बढी हुन नपाउने नीति अधिवेशनबाट पास गर्ने तयारी महामन्त्रीद्धयको छ। यसो भए चार पटक प्रधानमन्त्री भइसकेका देउवा स्वतः रोकिनेछन्।

आगामी मंसिरमा हुने कांग्रेसको महासमिति बैठक छ। उक्त बैठकमा यो एजेन्डा लगेर सैद्धान्तिक सहमति गरी नीति अधिवेशनबाट पारित गराउने तयारी भइरहेको महामन्त्री शर्माले बताउँछन्।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनको प्रयास निरन्तर जारी राखेका छन्। २०७९ को मंसिरको चुनावअघि नै महामन्त्री थापाले संसदीय दलको चुनाव लड्ने मात्र भनेका थिएनन, प्रधानमन्त्री हुने समेत भनेका थिए।

त्यतिबेला उनको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री हुनेलाई छान्ने कि प्रधानमन्त्रीका पीएलाई छान्ने भन्ने चर्चा चलाइएको थियो।

चुनावपछि थापा देउवासँग संसदीय दलको नेतामा चुनाव पनि लडे । तर पराजित भए । त्यो गणितमा अहिले पनि कुनै परिवर्तन आइसकेको छैन।

त्यतिबेला थापाले २५ र देउवाले ६४ मत पाएका थिए ।तर, फेरि पनि कांग्रेसभित्र समीकरण परिवर्तनको प्रयास जारी छ। महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल गगनको साथमा हुने देखिएका छन् ।

कतिपय नेताहरु विगतमा गगन थापाको साथमा रहेका मनिष झा, स्वर्णिम वाग्ले लगातका अनुहारले साथ छोडिसकेका छन् र उनीहरु अर्को पार्टीबाट सांसद भएर संसदमै छन्। त्यसको दबाबका कारण गगन थापाले देउवामाथि दबाब बढाउनुपर्ने बाध्यता रहेको छ।

यसकारण गगन थापा वर्तमान सत्तागठबन्धन कायम रहेको अवस्थामा कांग्रेसको पालोमा प्रधानमन्त्री देउवा नहुन भन्ने चाहन्छन्। त्यसलाई रोक्न संसदीय दलको चुनाव गराउनुपर्ने थापाको माग छ। यो समाचार आजको मध्यान्ह राष्ट्रिय दैनिकमा छ।