अहिलेका शिक्षामन्त्री नै शैक्षिक माफिया हुन: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध प्रदर्शनमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षकहरुको जायज माग सम्बोधन गर्न अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले माग गरेका छन्।

उक्त आन्दोलनरत शिक्षकहरुको उचित माग सम्बोधन हुनुपर्ने भन्दै नेता गजुरेलले आन्दोलनमा समर्थन जनाएका छन्। शिक्षा सर्वसुलभ  नि:शुल्क राष्ट्रियकरण गर्नु पर्नेमा निजिकरण,व्यापारीकरण र दलालीकरण हुन पुगेको नेता गजुरेलले बताए।

उनले भने अहिलेको सरकार,प्रधानमन्त्री र शिक्षामन्त्री कहिले पनि यो शिक्षा क्षेत्रमा गम्भीर नबनेको आरोप लगाए। अहिलेका शिक्षामन्त्री आफै शैक्षिक माफिया हुन,पूर्व प्रधानमन्त्रीका श्रीमतीहरू समेत शैक्षिक माफिया भएको नेता गजुरेलले बताएका छन्।

संसद्‌मा पेस भएको शिक्षा ऐनमा स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारको स्पष्ट नीति सम्बोधन हुने गरी शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकारलाई नेता गजुरेलले आग्रह गरेका छन्।

देशभरका शिक्षकहरुले आफूहरुलाई लक्षित गर्दै विधेयक संसद्मा पेस भएको र यो पारित भएमा देशभरका शिक्षकहरु प्रभावित हुने भन्दै उनिहरूले काठमाडौं केन्द्रीत आन्दोलन गरेका छन्।

सरकारले उनीहरुसँग वार्ता पनि सुरु गरेको छ। सरकारसँग सहमति भएमा उनीहरु आन्दोलनका कार्यक्रम फिर्ता लिँदै घर फर्कनेछन् भने सहमति नभए आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।